नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले आफूहरू सबैभन्दा ठूलो ‘जनताको अदालत’ जान चाहेको बताएका छन्।
अखिल नेपाल महिला संघको केन्द्रीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने ‘सर्वोच्च अदालत अनि निर्वाचन आयोगमा हाम्रा कानुन व्यवसायी साथीहरू जानुहुन्छ। हामी त्यो भन्दा पनि ठूलो जनताको अदालतमा जान्छौं।’
उनले सर्वोच्च र निर्वाचन आयोगमाथि आफूहरूको भरोसा रहेको भन्दै सूर्य चिन्ह र नेकपाको नाम आफूहरूकै हुनेमा ढुक्क हुन आग्रह गरे।
प्रचण्डले प्रधानमन्त्री ओलीले संसद होइन संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको विघटन गरेको आरोप पनि लगाए।
‘हामीले वर्षौं लगाएर रगत पसिना बगाएर जन्माएको गणतन्त्र र संविधानको बच्चालाई एउटा भिलेन, खलनायकले निमोठिदिएका छन्’ उनले भने ‘त्यसैले हामी जनताको अदालत जान चाहेका हौँ।’
तीन वर्ष केपी ओलीजस्ता ‘भेडा’हरूको संगत गरेर आफूहरू पनि भेडाजस्तै भएको भन्दै उनले अब ‘सिंह गर्जिने’ बेला भएको बताए।
‘हामी पनि तीन वर्षसम्म केपी ओलीजस्ता भेडाहरूको संगतले भेडाजस्तै भएका हौं कि जस्तो लाग्यो। अब हामी सिंहजस्तै गर्जिनुपर्छ। केपी ओलीजस्ता भेडाहरू आफै साइड लाग्छन्।’
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७