रुपन्देही उद्योग संघले सरकारका उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीलाई उद्योगीका समस्याका बारेमा ज्ञापन पत्र बुझाएको छ।
संघका अध्यक्ष बाबुराम बोहोराले रुपन्देहीका उद्योगीहरुले ट्रंक लाइन विलिङ समस्याले चिन्तित बनेको विद्युत प्रशारणमा गुणस्तर घटेको तथा पुसदेखि चैत्रसम्मको अफ आवर सुविधा उपलब्ध नगराएको लगायतका समस्या समाधानका लागि ज्ञापन पत्र बुझाएको बताए।
ज्ञापन पत्र बुझाउँदै उनलले उत्पादन क्षेत्रमा डिमाण्ड शुल्क सधैका लागि खारेज गर्न र महसुलमा समेत छुट र सहुलियत उपलब्ध गराउनु पर्नेमा समेत विशेष जोड दिएका थिए।
निवर्तमान अध्यक्ष गणेश प्रसाद अधिकारीले ट्रंकलाइन विलिङ्ग समस्यामा परेका उद्योगीहरुको समस्या विगत लामो समयदेखि निरन्तर उठान गर्दा समेत समाधान हुन नसक्दा उद्योगीहरु अन्योलमा परेको बताए।
उद्योगी चन्द्रमान श्रेष्ठले विद्युत प्राधिकरणले भार व्यवस्थापनको क्रममा एकलौटी ढंगबाट ट्रंकलाइनमा परेको भन्दै उद्योगहरुबाट करोडौं रकम असुली गर्न खोजिनु उद्योगीहरु माथी अन्याय भएको बताए।
ज्ञापन पत्र बुझ्दै मन्त्री टोपबहादुर रायमाझीले उद्योगीहरुले उठान गरेको विषयहरु उपर आफु गम्भिर रहेको र समस्या समाधानका लागि आफ्नो तर्फबाट तत्काल छलफल र पहलको थालनी गर्ने प्रतिवद्धता व्यक्त गरे।
उनले विद्युत आपुर्ति बढ्दै गइरहेकोले औद्योगिक क्षेत्रलाई प्रशस्त आपुर्ति गर्न सकिने बताउँदैै लगानी वृद्धि गर्न समेत उद्योगीहरुलाई आग्रह समेत गरे।
सरकारले बजेट भाषण मार्फत लकडाउन अवधीको डिमाण्ड शुल्क शत प्रतिशत छुट र महशुलमा सहुलियत दिने घोषणाको कार्यान्वयनका लागि संघले पटक पटक आग्रह गर्दै आएको र अर्थमन्त्रालयले छुट दिने निर्णय गरेकोप्रति रुपन्देही उद्योग संघको तर्फबाट संघका अध्यक्ष बाबुराम बोहोराले स्वागत तथा आभार व्यक्त गरे।
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७