प्रतिगमन र मुलुकका विभिन्न ठाउँमा भएका महिला हिंसाविरुद्ध काठमाडौंमा महिला मार्च गरिएको छ। वसन्तपुरबाट दिउँसो २ बजेदेखि सुरु भएको मार्च न्युरोड, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरवार गेट पुगेको थियो।
सहभागीहरुले भद्रकालीमा प्रतिगमन र महिला हिंसाविरुद्ध नाटक गरेका थिए। उनीहरुले महिला हिंसा बन्द गर्नुपर्ने, बलात्कारीलाई सजाय दिनुपर्ने, हत्यारा पहिचान गरी कारबाही गर्नुपर्नेलगायतका माग गरेका थिए। उनीहरुले ‘मैना सुनुवारदेखि निर्मला पन्तसम्म अंगिरा पासीदेखि भागरथी भट्टसम्म–यो सिलसिला अब सधैंका लागि बन्द हुनुपर्छ। पुरुष प्रधान कानुन र सत्ताका आडमा कुनै पनि अपराधि र बलात्कारीले उन्मुक्ति पाउनु हुँदैन’, भन्दै मार्चपास गरेका थिए।
त्यसअवसरमा सहभागीहरुले प्रतिकात्मक रूपमा शवयात्रा तथा एकोहोरो शंख बजाउँदै प्रतिगमनको विरोध गरेका थिए। टाउकोमा सेतो कपडा बेरेर सेतो धोती लगाएका युवाहरूले प्रतिकात्मक शवयात्रा गरेका थिए।
तस्बिरहरु-सुजन श्रेष्ठ
















