२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा गत मंगलबारदेखि सुरु भएको नेपाली सेनाको गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा जंगीअड्डा आइपुगेको छ।
सेनाको पहिलो पटक गठन भएका पाँच युनिटका झण्डा, नेपालको राष्ट्रिय झण्डा, टर्च लिएर पदयात्रामा निस्केको टोली आज बिहान जंगीअड्डा आइपुगेको हो। सहसेनानी दल बहादुर थापाको नेतृत्वमा ४० जनाको टोली पदयात्रामा सहभागी थिए।
उनीहरु पृथ्वीनारायण शाहकालीन पोशाकमा बाजागाजासहित यात्रामा निस्किएका थिए।
राज्य एकीकरणको क्रममा पृथ्वी नारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण मार्गको रुपमा विकास गर्न सेनाले पदयात्रा थालेको हो।
टोली गोरखा, धादिङ र नुवाकोटका विभिन्न स्थानमा स्थानीयवासीसँग लोकनृत्य, छलफल र अन्तरक्रिया गर्दै काठमाडौं उपत्यका प्रवेश गरेको थियो।
पदयात्रामा निस्केको टोली आइतबार साँझ उपत्यका प्रवेश गरेको थियो। उक्त टोली आज बिहान जुद्ध शालिक-न्यूरोड गेट-सैनिक मञ्च-भद्रकाली मन्दिर हुँदै जंगीअड्डा प्रवेश गरेको हो।












