प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन निमत्याएको भन्दै नागरिक अगुवाहरूले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन्।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठान परिसरमा भएको प्रदर्शनमा क्यानभासमा पेन्टिङ, नाटक, कविता वाचनलगायतका गतिविधि गरेर नागरिक अगुवाले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गरेका हुन्।
विरोध प्रदर्शनमा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, नारायण वाग्ले, युग पाठक, विद्या श्रेष्ठ, सीएन थारू, मुकुन्दसिंह तामाङ्गलगायत सहभागी थिए।
कार्टुनिस्ट रवी मिश्र, रसिक राज, रवीन्द्र श्रेष्ठले क्यानभासमा चित्र बनाएर संसद विघटनको विरोध गरेका थिए भने महिला अभियन्ताहरूले नारा लगाएर।
त्यसक्रममा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटहरू खारेज गरिदिनुपर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति दिनु अदालतको अपहेलना रहेको टिप्पणी गरेका थिए।
सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएर ओलीले अदालतको अपमान गरेको उनले बताएका छन्।
अध्यक्ष श्रेष्ठले माघ १ गते हुन लागेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणप्रति पनि आपत्ति जनाएका छन्। कामचलाउ सरकारका कुनै पनि मन्त्री विदेश भ्रमण गर्नु अनुपयुक्त रहेको उनले बताए।












